१९ कार्तिक गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिकाको सरकारी सवारीसाधन काठमाडौंमा फेला परेपछि स्थानीयस्तरमा बहस सुरु भएको छ। गाउँपालिकाको सरकारी नम्बर प्लेट भएको ग १ झ ६६१ नम्बरको टाटा सफारी काठमाडौंको रानीवन क्षेत्रमा पार्किङ गरिएको अवस्थामा भेटिएपछि उक्त गाडी कसको अनुमति र कुन प्रयोजनका लागि काठमाडौं ल्याइएको हो भन्ने विषयमा प्रश्न उठेको छ।स्थानीयवासीका अनुसार उक्त सरकारी गाडी गाउँपालिकाकी उपाध्यक्ष अमृता देवी भट्टका श्रीमान्ले व्यक्तिगत प्रयोजनका लागि काठमाडौं ल्याएका हुन्। गाउँपालिकाको कुनै आधिकारिक पत्र, पास वा जानकारीबिना सरकारी गाडी काठमाडौं ल्याइएको स्थानीयको दाबी छ।
सरकारी गाडी काठमाडौंमा भेटिएपछि भिमसेनथापावासीबीच यस विषयमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। केहीले सम्बन्धित व्यक्तिसँग यथार्थ विषय नबुझी सामाजिक सञ्जाल तथा सार्वजनिक रूपमा टिप्पणी गरेर चरित्रहत्या गर्न नहुने बताएका छन्। भने, केहीले सरकारी सवारीसाधनको सम्भावित दुरुपयोगबारे सत्यतथ्य छानबिन गरी दोषी देखिएमा कारबाही गर्नुपर्ने माग गरेका छन्।
गाउँपालिकाका अध्यक्ष भन्छन्— मलाई जानकारी छैन
यस विषयमा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जारासँग बुझ्दा आफू अन्य कामको सिलसिलामा गाउँपालिकाबाहिर रहेको र सरकारी गाडी काठमाडौंमा रहेको विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्।त्यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग सम्पर्क गर्ने प्रयास गर्दा फोन उठेन। पालिकाका प्रशासनिक अधिकृत लोकराज ढुंगानासँग कुराकानी गर्दा उनले पनि यस विषयमा आफूलाई जानकारी नभएको बताए।
उनका अनुसार उक्त गाडी काठमाडौं ल्याउन गाउँपालिकाबाट कुनै पास वा आधिकारिक पत्र जारी गरिएको जानकारी आफूलाई छैन।गाउँपालिकाका जिम्मेवार पदाधिकारीलाई समेत जानकारी नभएको अवस्थामा सरकारी गाडी काठमाडौं कसको अनुमति र कुन प्रयोजनका लागि ल्याइएको हो भन्ने विषय थप चासोको विषय बनेको छ।
रानीवन क्षेत्रमा पार्किङ गरिएको उक्त गाडीलाई कुनै सरकारी कार्यालयमा लगेर राख्ने तयारी भइरहेको दाबीसमेत स्रोतले गरेको छ। यद्यपि, यस विषयमा आधिकारिक पुष्टि हुन बाँकी छ।जनताको करबाट खरिद तथा सञ्चालन हुने सरकारी सवारीसाधन सार्वजनिक कामका लागि प्रयोग हुनुपर्नेमा व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको पाइएमा त्यसलाई उचित मान्न नसकिने स्थानीयको भनाइ छ।
यदि सरकारी अनुमति र आधिकारिक प्रयोजनबिना गाडी काठमाडौं ल्याइएको पुष्टि भएमा सम्बन्धित पक्षमाथि छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने माग उठेको छ।गृहमन्त्री सुदन गुरुङको निर्वाचन क्षेत्रसमेत रहेको गोरखामा जनप्रतिनिधिसँग सम्बन्धित सरकारी सवारीसाधनको सम्भावित दुरुपयोगको विषय सार्वजनिक भएपछि सम्बन्धित निकायले यसबारे कस्तो कदम चाल्छ भन्ने चासो बढेको छ।
यद्यपि, सरकारी गाडी काठमाडौंमा भेटिएको विषयलाई लिएर आरोप–प्रत्यारोप गर्नुभन्दा पहिले गाडी प्रयोगको वास्तविक अवस्था, अनुमति तथा प्रयोजनबारे निष्पक्ष छानबिन हुनुपर्ने आवाज पनि उठिरहेको छ।यस विषयमा गाउँपालिकाकी उपाध्यक्ष अमृता देवी भट्ट तथा उहाँका श्रीमान्को प्रतिक्रिया प्राप्त हुन सकेको छैन। सम्बन्धित पक्षको प्रतिक्रिया प्राप्त भएपछि समाचारमा समावेश गरिनेछ।